
मैनिया । न्यु एभरेष्ट युवा क्लब, गैडहवा–८, मैनिया, रुपन्देहीको आयोजनामा यही चैत २५ देखि बैशाख ९ गतेसम्म दोस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
गैडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि चैत २१ गतेसम्म टिमदर्ता गर्न सकिने खेल संयोजक प्रकाश हमालले बताए । साथै टिमदर्ता शुल्क १५ हजार तोकिएको पनि उनले जानकारी दिए ।
गैडहवा गाउँपालिकाको कार्यालय, बिष्णुपुरा–३, रुपन्देही संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक निर्मल रानाले जानकारी दिए ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा १२ टोलीहरुले मात्र सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।