
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगितामा शुक्रबार पाँच टोली विजयी भए भने शनिबार दुई टोली विजयी भएका छन् ।
पहिलो खेलमा धरान एफएफसीले केलिङ आधारभूत विद्यालय आठराई ४ इवालाई पराजित गरेको छ । इवालाई धरानले विशाल विकले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको १३औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । यस्तै, लाफा युवा क्लबले सिंहदेवी सोदनलाई ३-१ गोलले पराजित गर्यो । जसमा लाफा युवाका लागि सरोज चौहानले खेलको १०औँ र ४७औँ मिनेटमा व्यक्तिगत २ गोल गरे भने सन्देश लिम्बूले खेलको २९औँ मिनेटमा गोल गरे । सिंहदेवी सोदनका लागि कप्तान सुजन लिम्बूले खेलको ५०औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
यसैगरी, श्रीजंग राया पापो समाज आठराई इवाले आठराई गाउँपालिकाको टिममाथि १-० गोलको कठिन जित दर्ता गर्यो । श्रीजंगका लागि अग्रीम इङनामले खेलको ९औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । यस्तै, नाम्जाङ बेसिक स्कुल थोक्लुङले टाइब्रेकरमा स्वर्गवती बेसिक स्कुल ह्वाकु ३ लाई पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको २ मिनेटभित्र ह्वाकुले २ गोल गरेको थियो । पहिलो मिनेटमै सन्दिप लिम्बूले गोल गरेका थिए भने दोस्रो मिनेटमा सन्देश लिम्बूले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर, थोक्लुङले कमब्याक गर्दै टाइब्रेकरमा बाजी मारेको थियो । थोक्लुङका लागि आन्चो लिम्बूले खेलको १६औँ मिनेटमा गोल गरे भने संगम राईले खेलको ३८औँ मिनेटमा गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । टाइब्रेकरमा ४-२ गोलअन्तरले थोक्लुङ विजयी भयो । शुक्रबार नै भएको अन्तिम खेलमा आठराई गाउँपालिका ३ नम्बर वडा कार्यालयलाई शारदा मावि चुहानडाँडाले पराजित गर्यो । चुहानडाँडाले १-० गोलअन्तरमा पराजित गरेको हो ।
आज शनिबार भएको पहिलो खेलमा फोम्बो आवाजुङ कल्याणकारी समाज खाम्लालुङले सिमसार चिप्लिटार सामुदायिक वन उपभोक्ता समूह छाते १ ओखरबोटेमाथि शानदार जित दर्ता गर्यो । खाम्लालुङले ओखरबोटेमाथि ४-० गोलको शानदार जित दर्ता गरेको हो । खाम्लालुङका लागि निरश लिङदेनले खेलको १०औँ मिनेटमा सुरुवाती गोल गरे । यसैगरी, ३६औँ मिनेटमा सुशिल राईले गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै, सुनिल चोङबाङले खेलको ४५औँ र ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको शानदार जित दर्ता गराए । आजै भएका् दोस्रो खेलमा भद्रागोल लिसिबुङ आठराई १ ले झापाको बाँसबारी युवा क्लबमाथि सडनडेथमा ऐतिहासिक जित दर्ता गर्यो । खेलको निर्धारित अवधिमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय लिन खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि समान ५-५ गोल भएपछि निर्णय सडनडेथबाट लिइएको हो । सडनडेथमा दुवै टोलीले १९-१९ पटक प्रहार गरेका थिए । अन्ततः लिसिबुङले १९-१८ गोलअन्तरमा जित दर्ता गर्न सफल भयो । २०१५ सालदेखि लाग्दै आएको मदन मेलामा आयोजित खेलको निर्णय १९औँ प्रहारबाट लिइएको पहिलोपटक हो । फुटबलको पुरुषतर्फ २२ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद २ लाख र ट्रफी पाउँदा उपविजेताले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, महिला फुटबलतर्फ ४ वटा टोलीले सहभागिता जनाउने भएका छन् । विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । यस्तै, गाउँपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमतर्फ खुल्ला पुरुष नृत्य प्रतियोगिता, धान नाच प्रतियोगिता, पुरुष ब्याडमिनटन डबल, महिला ब्याडमिन्टन सिंगल, खुल्ला कविता वाचन प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ ।
पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार र ट्रफी पाउने छ । अन्य खेलकुद तथा सांस्कृति प्रतियोगिताका विजेता र उपविजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।