
उदयपुर । सहज जितका साथ शनिबार सम्पन्न उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि अल इन वान क्लब, झापाले जितेको छ । फाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अल इन वानले उपाधि उचाल्न सफल भएको हो ।
थरुहट रगशालामा भएको फाइनल भिडन्तमा अल इनका लागि रजनी थोकरले दुई गोल गरिन् भने थप एक गोल मेनुका आले मगरले गरेकी थिईन् ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजेता अल इन वान क्लब कै सबिता राना मगर घोषित भईन । उनले पुरस्कार वापत नगदसहित ट्रफी हात पारिन् ।
विजेता बनेको अल इन वान क्लबले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता पथरी शनिश्चरेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनामा बैशाख १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ महिला फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।