
धरान । महेन्द्र बुहुमुखी क्याम्पस, दाङ र शंकरदेव क्याम्पस, काठमाडौं यहाँ जारी १५औं टियु बिबिए नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धरान रंगशालामा भएको पहिलो क्वाटरफाइनलतर्फ महेन्द्र बहुमुखी कयाम्पसले बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । महेन्द्र बहुमुखीका लागि किरण योगीले ह्याट्रिक गरे भने थप एक गोल निशान क्षेत्रीले गरेका थिए ।
त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ शंकरदेव क्याम्पसले भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । शंकरदेवको जितमा दुवै गोल कमल मानन्धरले गरेका थिए ।
महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।