News बाहुनडाँगी प्रविण ग्वाल स्मृति फुटबलको फाइनलमा
रमेश समदर्शी

बुधबारेको आदर्श युवा क्लबलाई पराजित गर्दै बाहुनडाँगीको डिएफसी यहाँ जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बाहुनडाँगीले बुधबारेलाई ४-१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । बाहुनडाँगीका लागि पुजन राईले व्यक्तिगत २ गोल गरे । खेलको १९औँ मिनेटमा बाहुनडाँगीका रुजन न्यौपानेले गोलको खाता खोलेका थिए । २६औँ मिनेटमा रिखी श्रेष्ठले गोल गर्दै बाहुनडाँगीको अग्रता दोब्बर बनाए भने पुजन राईले पहिलो हाफकै ३०औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकाले । दोस्रो हाफमा बुधबारेको टोली केही लयमा फर्किएको थियो । यसै क्रममा बुधबारेका विशाल दर्जीले दोस्रो हाफको ९ मिनेटमा गोल गर्न सफल भए ।

तर, बाहुनडाँगीका पुजन राईले दोस्रो हाफको २३औँ मिनेटमा गोल गरेर ४-१ गोलअन्तरमा टोलीलाई फाइनल यात्रामा ल्याइपुराए । खेलको म्यान अफ दी म्याच बाहुनडाँगीका कप्तान रुजन न्यौपाने बने । उनलाई आयोजकले नगद १ हजार पुरस्कार प्रदान गर्यो ।

बाहुनडाँगीले शनिबार आयोजक लायन एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ । यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् ।

 

Post Comments