
हेटौडा । दोस्रो विजय युथ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक तथा साविक विजेता विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको उपाधि भिडन्तमा विजय युथले पदमपोखरी युनाइटेडलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विजय युथले एक गोलले पछि परेको स्थितिमा रोमाञ्चक पूनःरागमनका साथ उपाधि जित्न सफल भएको हो । खेलको ४२औं मिनटमा दिपेश आले मगरको गोलबाट पदमपोखरीले खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर त्यो अग्रता पदमपोखरीले अन्तिमतिर गुमाउन पुग्यो ।
दोस्रो हाफको अन्तिमतिर हिसुब थपलियाले लगातार दुई गोल गर्दै आयोजकको रोमाञ्चक जित र उपाधि रक्षा पक्का गरेका थिए । फाइनल खेलमा निर्णायक बनेका हिसुब थपलिया म्यान अफ द म्याच समेत चुनिए ।
विजेता बनेको विजय युथले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता पदमपोखरीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
हिसुब बने सर्वोत्कृष्ट खेलाडी
व्यक्तिगत विधातर्फ फाइनलमा निर्णायक बनेका विजय युथका हिसुब थपलिया प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद १० हजार र ५ लाख बराबरको जीवन बिमा प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट गोलरक्षक विजय युका सुरज भ्लोन घोषित भए भने उत्कृष्ट डिफेन्डर पदमपोखरीका सुरज बिष्ट चुनिए । उत्कृष्ट मिडफिल्डर विजय युथका रुपेश केसी बन्दा उत्कृष्ट फरवार्ड पनि विजय युथ कै अजयी मार्टिन्स चुनिए ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षक ज्ञानु क्षेत्री घोषित भए । विद्यागततर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजारसहित ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष सुशिल घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, आयोजक क्लबका अध्यक्ष सुदिप राजबाहक लगायतले पुरस्कृत गरेका थिए ।
विजय युथ क्लब, हेटौडाको आयोजनामा असार ५ गतेदेखि शुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा