
इटहरी । तालतलैया फुटबल क्लब यहाँ जारी दोस्रो वडा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ तालतलैयाले हाटखोला फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
विसनपुर खेलमैदानमा भएको खेलमा तालतलैयाका लागि उमेश कार्की र सुशन कार्कीले गोल गरे । उता पराजित हाटखोलाका लागि बर्तमान राईले गोल फर्काएका थिए । खेलमा हाटखोलाका बिष्णु राई म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै असोज ६ गते स्थगित भएको प्रिक्वाटरफाइनल खेल पनि सोमबार नै सम्पन्न भयो । जसमा आयोजक द ड्रिम्स क्लब (ए) ले शान्ति युथ क्लबलाई ३–१ ले हरायो । द ड्रिम्सका लागि दिनेश राईले दुई गोल गरे भने आदित्यले थप एक गोल गरे । खेलमा द ड्रिम्सका दिनेश राई म्यान अफ द म्याच चुनिए ।
द ड्रिम्स क्लब, इटहरी–१७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज १४ गतेका दिन हुनेछ ।