News सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशहरुमा हुने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सन् २०३० मा हुने प्रतिष्ठित फिफा विश्वकपको २४औं संस्करण इतिहास मै पहिलोपटक तीन महादेशका ६ देशहरुमा हुने भएको छ । यो कुराको फिफासहित अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि पुष्टी गरेका छन् ।

जसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को फिफा विश्वकप संयुक्त रुपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको शुरुवाती तीन खेलहरु दक्षिण अमेरिकी राष्ट्र उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् ।

योसँगै विश्वकप हुने ती ६ वटै देशहरु सन् २०३० को फिफा विश्वकपका लागि सोझै छनौट हुनेछन् । फिफाले सन् २०२६ को विश्वकपबाट सहभागि टोलीहरुको संख्या ४८ पुर्याउने यसअघि नै निर्णय गरिसकेको छ ।

फिफाका अनुसार विश्वकप शुरु भएको १०० वर्ष पूरा गरेको अवसर सन् २०३० को फिफा विश्वकपको शुरुवाती तीन खेलहरु दक्षिण अमेरिकी राष्ट्रहरुमा हुने बताइएको छ । स्मरण रहोस, फिफा विश्वकपको पहिलो संस्करण दक्षिण अमेरिकी महादेश मै भएको थियो ।

फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको राजधानी मान्टेभिडियोमा सम्पन्न भएको थियो । त्यतिबेला पहिलो विश्वकपको उपाधि आयोजक उरुग्वेले नै जितेको थियो भने उपविजेता अर्जेन्टिना बनेको थियो ।

 

Post Comments