News एपिएफ पकलीलाई दोस्रो वडा अध्यक्ष कपको उपाधि
गोलनेपाल

इटहरी । उत्कृष्ट जितका साथ दोस्रो वडा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ पकली, सुनसरीले जितेको छ । फाइनलमा तालतलैया फुटबल क्लबलाई २–४ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।

विसनपुर खेलमैदानमा भएको उपाधि भिडन्तमा एपिएफका लागि बुद्धिमान राईले दुई गोल गरे भने भरत कपाली र हरि कार्कीले समान एक–एक गोल गरे । उता तालतलैयाका लागि उमेश कार्की र निवास फुयालले गोल गरेका थिए ।

विजेता बनेको एपिएफ पकलीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता तालतलैयाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एपिएफका सुजन बिक चुनिए । उत्कृष्ट डिफेन्डर पनि एपिएफ कै दिपेश धिमाल बन्दा उत्कृष्ट मिडफिल्डर र फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार एपिएफका बुद्धिमान राईले हात पारे ।

उत्कृष्ट फरवार्ड एपिएफका हरि कार्की चुनिदा उदियमान खेलाडी आयोजक द ड्रिम्स क्लबका समिर दनुवार बने । सर्वोत्कृष्ट खेलाडी भने तालतलैयाका निवास फुयाल घोषित भए ।

द ड्रिम्स क्लब, इटहरी–१७, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments