
काठमाडौं । सन् २०३४ को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियाले पनि फिफा समक्ष प्रस्ताव गरेपछि अहिले यो कुराले पनि विश्व फुटबलमा चर्चा पाईरहेको छ ।
साउदीले गत साता मात्रै विश्व फुटबलको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता आयोजना गर्न विश्व फुटबलको नियमनकारी निकाय फिफा समक्ष आधिकारिक रुपमा प्रस्ताव पेश गरेको थियो ।
साउदीको यही प्रस्तावलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि समर्थन गरेको छ । साउदी र नेपाल बीचको सम्बन्ध विविध कारणले पनि विशेष र प्रगाढ रहेको चर्चा गर्दै एन्फाले सन् २०३४ को फिफा विश्वकप आयोजना अधिकार साउदीले पाउनु पर्नेमा आफूहरुको पनि समर्थन रहेको जनाएको छ ।
स्मरण रहोस, गत वर्ष मात्र अर्को एसियाली राष्ट्र कतारले फिफा विश्वकपको २२औं संस्करण भव्यताका साथ सम्पन्न गरिसकेको छ । यद्यपि कतार विश्वकप इतिहास मै पहिलोपटक जाडो मौसममा आयोजना गरिएको थियो ।
साउदी अरबले भने कतार विश्वकप अघिको संस्करणहरुमा झैं गर्मी महिना मै विश्वकप आयोजना गर्न तयार रहेको बताएको छ । विश्वकप आयोजनाबारे साउदीको यो प्रस्तावलाई एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि समर्थन गरेका छन् ।
त्यसो त, साउदीको यो प्रस्तावलाई डोमिनिक रिपब्लिक, ग्वाटेमाला, पनामा, फिलिपिन्स लगायत अन्य थुप्रै फिफा सदस्य राष्ट्रहरुले समर्थन गरिरहेका छन् ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न