काठमाडौं । फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौटको प्रारम्भिक चरणको छनौट खेलहरुमा राम्रो नतिजा हासिल गरेपछि नेपालले आफ्नो फिफा वरियतामा पनि दुई स्थान सुधार गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टुबर महिनाका लागि निकालेको ताजा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७३औं स्थानमा उक्लेको हो ।
फिफा विश्वकप र एएफसी एसियन कप छनौटको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालले लाओस विरुद्ध एक खेलमा बराबरी र एक खेलमा जित निकाल्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएपछि नेपालको फिफा वरियतामा पनि सुधार भएको हो ।
दोस्रो चरणको छनौट खेलतर्फ समूह एच मा परेको नेपालले युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्ने पनि तय भईसकेको छ । साथै नेपाल अहिले त्यसकै तयारीमा पनि जुटिसकेको छ ।
दक्षिण एसियामा नेपाल तेस्रो
त्यस्तै ताजा वरियता अनुसार दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । फिफा वरियताको १०२औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
१८२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ । १८३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९३औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०२औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
अर्जेन्टिना कै शिर्षता
विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना नै यथावत छ । दोस्रो स्थानमा फ्रान्स रहँदा तेस्रो स्थानमा अर्को दक्षिण अमेरिकी महारथी ब्राजील रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)