काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको एफसी चितवनले आफ्नो स्क्वाड थप बलियो बनाउन घानाका हाई प्रोफाइल मिडफिल्डर एफ्राइ एक्वाहलाई क्लबमा अनुवन्ध गरेको छ ।
३१ वर्षिय घानाका यी अनुभवी मिडफिल्डरलाई अनुवन्ध गरेको कुरा चितवनले पनि आधिकारिक रुपमा जानकारी गराएको छ । यससँगै दोस्रो एनएसएल खेल्ने एक्वाह अर्का हाइ प्रोफाइल खेलाडी बनेका छन् ।
आफ्नो व्यवसायीक फुटबल करियरको अधिकांश समय इटालीको शिर्ष फुटबलमा बिताएका एक्वाहले पालेर्मो, पार्मा, साम्पडोरिया, टोरिनो, एम्पोली जस्ता चर्चित क्लबहरुबाट खेले । त्यसबाहेक उनी जर्मन, टर्की र साउदीको शिर्ष लिग खेल्न पनि भ्याए ।
घानाका लागि सन् २०१४ को फिफा विश्वकप पनि खेलेका एक्वाह सम्भवत नेपाल सुपर लिग खेल्ने अहिलेसम्म कै अनुभवी र हाइ प्रोफाइल खेलाडी मध्ये एक पनि हुन् । उनको आगमनले चितवनको स्क्वाड थप बलियो बन्ने अपेक्षा क्लबले गरेको छ ।
स्मरण रहोस, चितवनको मुख्य प्रशिक्षकमा भारतका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मेहराजुद्दिन वादु रहेका छन् । मार्की खेलाडीमा अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ छन् भने आइकोनिक खेलाडीमा नेपालका स्टार फरवार्ड बिमल घर्ती मगर रहेका छन् ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग र व्यवस्थापनमा हुन गईरहेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान