News बिरगंज युनाइटेडका आइकोनिक खेलाडी बने तेज
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा पहिलोपटक सहभागिता जनाउन गईरहेको बिरगंज युनाइटेड फुटबल क्लबले नेपालका अन्तर्राष्ट्रिय मिडफिल्डर तेज तामाङलाई आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको छ ।

पछिल्लो समय अष्ट्रेलियामा बस्दै आइरहेका तेजले पनि नेपाल सुपर लिग खेल्ने पक्का भएको हो । स्मरण रहोस, तेजले एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्सका लागि खेल्दै क्लबलाई च्याम्पियन बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

बिरंगज युनाइटेडको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् । त्यस्तै मार्की खेलाडीमा भने राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की रहेका छन् ।

त्यसो त पोखरा थन्डर्सले बिहीबार मात्रै दिनेश राजवंशीलाई आफ्नो आइकोनिक खेलाडीका रुपमा घोषणा गरेको थियो । त्यस्तै बिमल घर्ती मगर एफसी चितवन तथा आशिष लामा बुटवल लुम्बिनी एफसीका आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भईसकेका छन् ।

सम्झिनु पर्ने कुरा त, हालसम्म आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भएका चार जना खेलाडीहरु नै नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु हुन । र, यी चारै खेलाडीहरु केही हालसालै अष्ट्रेलिया पलायन भएका थिए ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष सहयोग र व्यवस्थापनमा हुन गईरहेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।

Post Comments