
काठमाडौं (एजेन्सी) । जारी फिफा यु–१७ विश्वकपतर्फ आफ्नो पहिलो खेलमा हारका साथ खराब शुरुवात गरेको साविक विजेता ब्राजील र अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा महत्वपूर्ण जित हात पारेका छन् ।
समूह सी मा रहेको ब्राजीलले मंगलबार न्यु क्यालिडोनियामाथि ८–० को फराकिलो जित निकाल्यो । सोही समूहमा रहेको इङल्याण्डले लगातार दोस्रो जित हात पार्ने क्रममा इरानमाथि २–१ को जित दर्ता गर्यो ।
यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको इङल्याण्ड समूह सी को शिर्ष स्थानमा छ । र नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समान ३–३ अंक जोडेका ब्राजील र इरान दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन न्यु क्यालिडोनिया पुछारमा छ ।
समूह चरणको अन्तिम खेलमा १७ नोभेम्बरका दिन इङल्याण्डले ब्राजीलको सामना गर्नेछ भने सोही दिन इरानले न्यु क्यालिडोनियासँग भिड्ने छ ।
सेनेगल र अर्जेन्टिनालाई पनि सफलता
त्यस्तै समूह डी तर्फ अफ्रिकी राष्ट्र सेनेगलले लगातार दोस्रो जित हात पार्ने क्रममा मंगलबार पोल्याण्डलाई ४–१ ले हरायो । सोही समूहको अर्को खेलमा अर्जेन्टिनाले जापानमाथि ३–१ को जित निकाल्यो र नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्यो ।
समूह डी मा २ खेलबाट ६ अंक जोडेको सेनेगल शिर्ष स्थानमा रहँदा समान ३–३ अंक जोडेका अर्जेन्टिना र जापान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै अंकविहीन पोल्याण्ड पुछारमा छ ।
समूह डी को अन्तिम खेलमा १७ नोभेम्बरका दिन सेनेगलले जापानको सामना गर्नेछ भने सोही दिन अर्जेन्टिना र पोल्याण्ड भिड्ने छन् ।