
पोखरा । पर्यटकीय नगरी पोखरामा जारी १८औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता चलिरहेकै बेला आयोजक सहारा क्लब, पोखरालाई हङकङ र युकेबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।
बिहीबार पोखरा रंगशालामा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल चलिरहँदा सोही अवसरमा सहारा क्लबको भातृ संस्था सहारा क्लब, हङकङले २ लाख ७ हजार ४ सय ५० रुपैयाँ सहयोग गर्यो ।
उक्त रकम सहारा क्लब, हङकङका अध्यक्ष दिपक गुरुङले सहारा क्लब, पोखराका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा एनआरएन हङकङकी अध्यक्ष टिका गुरुङले पनि सहारा क्लब, पोखरालाई १ लाख नगद हस्तान्तरण गरिन् ।
त्यति मात्र नभएर सोही अवसरमा तुम समाज, युकेका माया गुरुङ, बत्ती गुरुङ र पार्वती गुरुङले पनि संयुक्त रुपमा सहारा क्लबलाई १ लाख सहयोग रकम हस्तान्तरण गरे ।
सो अवसरमा सहयोग पुर्याउने सबैलाई शुभेच्छुक र सहयोगीहरुलाई सहारा क्लब, पोखराका अध्यक्ष केशव बहादुर थापाले धन्यवाद दिए । क्लबका मिडिया डाइरेक्टर सुदर्शन रंजितका अनुसार क्लबलाई प्राप्त उक्त रकम एकेडेमी सञ्चालनार्थ नै खर्च गरिने बताए ।
स्मरणीय छ, सहारा क्लबले अति विपन्न वर्गका बालकहरुलाई निःशुल्क आवास, शिक्षा, फुटबल प्रशिक्षण सहितको सहारा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ । हाल जारी आहा! रारा गोल्डकपबाट संकलित आम्दानी रकम पनि एकेडेमी कै सञ्चालन मै खर्च गरिंदै आएको रंजितले जानकारी दिए ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने