News पोखरा भर्सेज ललितपुरः को बन्ला धनगढीको फाइनल प्रतिद्वन्द्वी?
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनउसएल) को दोस्रो क्वालिफायरतर्फ आज पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लब भिड्दै छन् । यी दुई टोली बीचको खेलको विजेताले शनिबार हुने फाइनल भिडन्तमा धनगढी एफसीसँग उपाधिका लागि खेल्नेछ ।

लिग अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै प्ले अफमा छनौट भएको पोखरालाई आज फाइनल पुग्ने दोस्रो अवसर पनि हुनेछ । यसअघि पहिलो क्वालिफायरमा धनगढीसँग स्तब्ध बन्दा पोखराले दोस्रो क्वालिफायर खेल्न बाध्य बनेको हो ।

उता इलिमिनेटर राउण्डमा साविक विजेता काठमाडौं रेजर्समाथि ०–३ को प्रभावशाली जित निकाल्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको ललितपुर आत्मविश्वासी र उत्साहित पनि छ । ललितपुरले इलिमिनेटरमा पस्केको प्रदर्शनलाई नै दोहोर्याउने प्रयासमा हुनेछ भने पोखरा फाइनल प्रवेशको दोस्रो अवसरलाई नगुमाउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने आजको खेल पनि निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Post Comments