News सुपर लिगको फाइनलमा ललितपुर, उपाधिका लागि धनगढीसँग भिड्ने
गोलनेपाल

काठमाडौं । प्रतिस्पर्धात्मक जितका साथ ललितपुर फुटबल क्लब जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरतर्फ ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले हराउँदै पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

दशरथ रंगशालामा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा ललितपुरले खेलमा जितका लागि अतिरिक्त समयको सहारा लिनुपरेको थियो । पहिलो हाफको एक्स्ट्रा समयमा इमोह इजिकेलको गोलबाट ललितपुरले खेलमा अग्रता बनाएको थियो ।

तर ७१औं मिनटमा स्टेफन एनोरले पोखराका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको ९९औं मिनटमा कुशल देउवाले ललितपुरका लागि निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

खेलमा ललितपुरका कप्तान अनन्त तामाङ प्लेयर अफ द मयाच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । ललितपुरले यही पुस १४ गते हुने फाइनलमा धनगढी एफसीको सामना गर्नेछ ।

Post Comments