News धनगढी भर्सेज ललितपुरः सुपर लिगले नयाँ च्याम्पियन पाउने
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब उपाधिका लागि फाइनलमा भिड्दै छन् । यी दुई टोली उपाधिका लागि भिड्दै गर्दा सुपर लिगले आज नयाँ च्याम्पियन पाउने पनि निश्चित छ ।

पहिलो संस्करण काठमाडौं रेजर्सले जिते तापनि काठमाडौं यसपटक प्ले अफबाटै बाहिरियो । उता लगातार दोस्रो फाइनल खेलिरहेको धनगढी भने उत्साहित पनि छ । संयोग कस्तो भन्दा धनगढी र ललितपुर दुवैले क्वालिफायरमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाए ।

धनगढीले पोखरालाई पहिलो क्वालिफायरमा हरायो भने ललितपुरले दोस्रो क्वलिफायरमा पोखरालाई निराश बनायो । धनगढी र ललितपुर दुवै उपाधि आफ्नो पक्षमा पार्नेमा विश्वस्त पनि छन् । नयाँ, पुराना र युवा खेलाडीको सम्मिश्रण रहेको दुवै टोली आज उपाधिका लागि भिड्दा नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउनेछ ।

आजको फाइनल खेल साँझ ५ः३० बजेदेखि शुरु हुनेछ । दशरथ रंगशालाको गेट भने ४ बजेदेखि खुल्ने आयोजकले जनाएको छ । त्यस्तै टिकट मुल्य सामान्यतर्फ २०० र विशिष्टतर्फ १००० तोकिएको छ ।

 

Post Comments