
पोखरा । बगर भाई खलक, पोखराको आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतिष्ठित दोस्रो हिमालयन ब्रुअरी तथा १३औं बगर भाई खलक कप अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
पुरानो टुंडिखेल स्थित राष्ट्रिय माविको खेलमैदानमा यही माघ २१ देखि २७ गतेसम्म हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । यसपटक ४० वर्ष माथि, ५० वर्ष माथि र ६० वर्ष माथिको उमेर समूह गरी तीन उमेर समूहमा प्रतियोगिता आयोजना हुने जानकारी गराइयो ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगितामा ४० वर्षको उमेर समूहमा २३ टोली, ५० वर्ष माथिको उमेर समूहमा ९ टोली र ६० वर्ष माथिको उमेर समूहमा ४ टोली गरी कुल ३६ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा नेपाल र भारतका टोलीहरुले सहभागिता जनाउने पनि प्रतियोगिता संयोजक ईश्वरमान गुरुङले बताए । प्रतियोगिताको ४० वर्ष माथिको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै ५० वर्ष माथिको उमेर समूहको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै ६० वर्ष माथिको उमेर समूहमा विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।
सक्रिय जीवनका लागि व्यायाम गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिता सम्पन्न गर्न कुल २५ लाख खर्च हुने अनुमान गरिएको आयोजक क्लबका महासचिव याम बहादुर गुरुङले जानकारी दिए ।