
बराहक्षेत्र । यहाँ जारी दोस्रो बराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार वार्ड नम्बर ३ र वार्ड नम्बर १ ले जित हात पारेका छन् । देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ४ लाई ७–० को फराकिलो अन्तरले हरायो ।
वार्ड नम्बर ३ का लागि निशान लिम्बुले डबल ह्याट्रिक पूरा गर्दै एक्लैले सात गोल गरे । लिम्बु नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितसँगै वार्ड नम्बर ३ आफ्नो खातामा महत्वपूर्ण तीन अंक पनि जोड्न सफल भयो ।
दोस्रो खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ११ लाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हरायो । वार्ड नम्बर १ का लागि बिनोद राई, अभिषेक शर्मा, सुदेश खड्का र अंकित थापाले गोल गरे । खेलमा वार्ड नम्बर १ का कप्तान दिवस लिम्बु म्यान अफ द म्याच घोषित भए ।
बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।