
दोस्रो लहान मेयर गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा विरगञ्ज युनाइटेडलाई विजेता घोषणा गरिएको छ । दोस्रो हाफमा झापाको टोलीले मैदान छाडेपछि विरगञ्जलाई विजेता घोषणा गरेको हो ।
पशुपति आदर्श माविको खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको ३२औँ मिनेटमा विरगञ्जका खेलाडीमाथि फाउल भएको थियो । केही भनाभनपछि मुख्य निर्णायक अजय सिंहले खेलको ३४औँ मिनेटमा झापाका एकराज बुढाथोकीलाई रेड कार्ड देखाएका थिए ।
रेड कार्ड देखाइएपछि खेलमा तनाव सिर्जना भएको थियो । निकै लामो समय छलफलमै बिते पनि विरगञ्जले पाएको फ्रिकिकमा गोल भएको थियो । झापाका खेलाडीले कुनै रक्षा नगर्दा सागर चौधरीले ४०औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै, तनाव साम्य नभइरहँदा खेल सुचारु भएको थियो । फेरि विरगञ्जका रञ्जय चौधरीले झापाको रित्तो पोस्टमा गोल गरे । दोस्रो हाफमा झापाका खेलाडी मैदान प्रवेश गरेनन् ।
यसैबीच, आयोजक हिम कस्तुरी युवा क्लबले झापा दमकको टिम चात्या सा पुस्तकालयलाई खेलमा फर्किन आग्रह गरेको थियो । खेलमा नफर्किएको झापालाई थप ५ मिनेट समय पनि दिइएको थियो ।
समयमा झापा मैदान प्रवेश नगरेपछि मुख्य निर्णायक अजय सिंह अन्तिम सिठी फुके भने आयोजकले विरगञ्ज युनाइटेडलाई विजयी भएको घोषणा गरेको थियो ।
भोलि (बिहीबार) धरानको मित्र मिलन क्लबले सिरहाको सल्हेश युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन १ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार पाउने छ ।