News २४औं बुढासुब्बा गोल्डकपमा आयोजक धरानको विजयी शुरुवात
गोलनेपाल

धरान । शनिबारदेखि शुरु भएको प्रतिष्ठित २४औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

उदघाटन खेलमा धरानले युकेएफसी, भारतलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गर्न सफल भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा धरानले युकेएफसीमाथि १०–९ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न समेत सफल भयो ।

निर्धारित समयतर्फ धरानका लागि मिलन राईले गोल गरेका थिए भने युकेएफसीका लागि नयन प्रधानले गोल गरेका थिए । खेलमा धरानका गोलरक्षक सचिन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन २७ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरानको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत ३ गतेका दिन हुनेछ ।

Post Comments