News चौथो इटहरी भेट्रान गोल्डकप शुरु, राजारानीको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु भएको चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा राजारानी भेट्रान क्लब, धनकुटाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा राजारानीले दमक लखनपुर भेट्रान क्लब, झापालाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा राजारानीका लागि रमेश गुरुङ्गले दुई गोल गरे भने सुर्य कुमार गुरुङ्गले थप एक गोल गरेका थिए । पराजित दमक लखनपुरका लागि सुमन आचार्य र हरि बहादुर शेर्माले गोल गरेका थिए ।

खेलमा राजारानीका लागि दुई गोल गरेका रमेश गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । यो जितसँगै राजारानी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २७ गते आइतबारको क्वाटरफाइनल खेल आयोजक हाम्रो इटहरी भेट्रान क्लब, इटहरी र विराट मेघा स्पोर्टस एकेडेमी भेट्रान, बिराटनगर बीच हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले गरेका थिए । हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments