News हासुलाई मिलन–धर्मराज स्मृति कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

मनहरी । सिमपानी युथ क्लब, मनहरीको आयोजनामा यहाँ सम्पन्न प्रथम मिलन–धर्मराज स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि हासु फुटबल क्लबले जितेको छ । फाइनलमा कैलाश फुटबल क्लबलाई हराउँदै हासु च्याम्पियन बनेको हो ।

सोमबार भएको उपाधि भिडन्तमा हासुले कैलाबमाथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित निकाल्यो । हासुको उत्कृष्ट जितमा जित थापा मगर, मोहित गुरुङ र ग्लोरीले एक–एक गोल गरे ।

विजेता बनेको हासुले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता कैलाबले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हासुका जित थापा मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधागततर्फ हासु कै बाबुराम चौधरी उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट डिफेन्डर पनि हासु कै छिरिङ लामा बन्दा उत्कृष्ट मिडफिल्डर हासुका राज थापा मगर बने ।

सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक सिमपानी युथ क्लबका राज भुषालले हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सिमपानी कै राहुल थापा मगर घोषित भए ।

 

 

Post Comments