
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि बहुप्रतिक्षित एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता शुरु हुँदैछ । उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दै छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने उद्घाटन खेलमा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ । प्रतियोगितामा कुल १० टोलीहरुबीच सिंगल राउण्ड रोबिनका आधारमा कुल ४५ खेलहरु हुनेछन् ।
त्यसपछि शिर्ष पाँच टोलीहरु बीच डबल राउण्ड रोबिनका आधारमा सुपर लिगमा २० खेलहरु हुनेछन् भने त्यसपश्चात् उत्कृष्ट चार टोलीहरु बीच क्वालियर्स, एलिमिनेटर र फाइनल गरी थप ४ खेलहरु हुनेछन् । समग्रमा कुल ६९ खेलहरु हुने छन् ।
लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछ भने अन्य विधातर्फ उत्कृष्ट हुने सबैले जनही ५०–५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै फेयर प्ले टिमले १ लाख ५० हजार पाउने पनि एन्फाले जानकारी दियो । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको पनि एन्फाले जनाएको छ ।