News लिस्नुलाई ३६औं झरना कपको उपाधि
सुरज राना मगर

कुञ्जलापुर । झिनो अन्तरको जितका साथ स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि लिस्नु युवा क्लब, कोटिहवाले जितेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा लिस्नुले आयोजक झरना स्पोर्टस क्लबलाई १–० ले हराएँदै उपाधि जित्न सफल भएको हो । लिस्नुको जितमा एन्जल महर्जनले पेनाल्टीबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको लिस्नुले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्यो भने उपविजेता झरनाले १ लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ उत्कृष्ट गोलरक्षक लिस्नुका बिशाल केसी बन्दा उत्कृष्ट डिफेन्डर झरनाका कप्तान कुलदिप कार्की चुनिए । उत्कृष्ट मिडफिल्डर पनि झरना कै सन्तोष खत्री बन्दा उत्कृष्ट फरवार्ड लिस्नुका सुशिल राई बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक झरना कै जितेश गुरुङ घोषित भए ।

झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा गत असोज २ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments