
प्रकाशपुर । रोमाञ्चक जितका साथ चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र यहाँ जारी सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा चक्रघट्टीले घरेलु टोली प्रकाशपुर फुटबल क्लब, प्रकाशपुरलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
खेलमा चक्रघट्टीका लागि भिम बिक र आकाश राईले गोल गरे । पराजित प्रकाशपुरका लागि भने साइमन लिम्बुले गोल गरेका थिए । खेलमा चक्रघट्टीका भिम बिक म्यान अफ द म्याच चुनिए ।
अब असोज २२ गते मंगलबार हुने फाइनलमा चक्रघट्टीले राजाबास फुटबल क्लब, राजाबाससँग उपाधिका लागि भिड्नेछ ।
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।