
देवचुली । विजयादशमीको अवसर पारी देव प्रगति युवा समाज, देवचुली, नवलपुरले आयोजना गरेको सेन्ट्रल कलेज प्रथम देव प्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ ।
देवचुली–७ स्थित भीमसेन आदर्श माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा प्रगतिकलाले आयोजक देव प्रगति युवा समाजलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । प्रगतिकलालाई उपाधि जिताउन मनु कुमालले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको प्रगतिकला मन्दिरले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता देव प्रगतिले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ प्रगतिकला मन्दिरका स्यामुल थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै देव प्रगति युवा समाजका विशाल बिक उत्कृष्ट गोलरक्षक बन्दा देव प्रगति कै अर्जुन सुनार उत्कृष्ट डिफेन्डर चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि देव प्रगति कै नविन थापाले हात पारे । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार र मेडल हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, आयोजक क्लबका अध्यक्ष त्रिलोचन पराजुली लगायतले पुरस्कृत गरेका थिए ।
असोज ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ३० टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको थियो भने सह–प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेको थियो ।