
काठमाडौ. । बिहीबारदेखि शुरु भएको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपमा पाँचपल्टको विजेता तथा उपाधिको दावेदार भारतले उत्कृष्ट शुरुवात गरेको छ । दशरथ रंगशालामा भएको समूह ए तर्फको उद्घाटन खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५–२ ले हरायो ।
भारतले पाकिस्तानमाथि पहिलो हाफ मै चार गोल गरेको थियो भने पाकिस्तानले एक गोल फर्काएको थियो । खेलको पाँचौं मिनट मै दाङ्मी ग्रेसको गोलबाट भारतले खेलमा अग्रता लिएको थियो । १७औं मिनटमा मनिषा कल्याणले त्यो अग्रता दोब्बर बनाउँदा ३५औं मिनटमा बालादेवीले तेस्रो गोल थपेकी थिईन् ।
खेलको ४२औं मिनटमा दाङुमी ग्रेसले व्यक्तिगत दोस्रो तथा भारतका लागि चौथो गोल गरिन् । यद्यपि पहिलो हाफ कै अतिरिक्त समयमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । जसलाई सुहा हिरानीले कुनै गल्ती नगरी गोलमा परिणत गरीन् ।
दोस्रो हाफ शुरु भएको केही मिनट मै मेरी सिद्दिकीले पाकिस्तानका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरीन् । तर सफल हुन सकिनन् । खेलको ७८औं मिनटमा ज्योति चौहानले पाँचौं गोल गर्दै भारतको जित पक्का गरिन् ।
यो जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना लगभग पक्का गरेको छ । भारतले समूह चरणको आफ्नो अन्तिम खेलमा २३ अक्टुबरका दिन साविक विजेता बंगलादेशसँग खेल्नेछ । त्यसअघि २० अक्टुबरका दिन महत्वपूर्ण मानिएको खेलमा पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।