
कोल्हुवा । प्रभावशाली जित निकाल्दै देशभक्त युवा क्लब, नवलपरासी यहाँ जारी सातौं राईनो संरक्षण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
देशभक्तले दश खेलाडीमा सिमित बनेको संकटा क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । राईनो रंगशालामा भएको खेलमा देशभक्तका लागि फागुराम थारुले दुई गोल गर्दा थप एक गोल सकिन गुरुङले गरेका थिए । उता संकटाका लागि भने चन्दन दासले एक मात्र गोल फर्काएका थिए ।
खेलको दोस्रो हाफमा संकटा दश खेलाडीमा पनि खुम्चिन पुगेको थियो । मनिष मगरले सोझै रातो कार्ड खाँदा संकटाले दोस्रो हाफमा थप दबाबमा खेल्नपर्यो । र, खेलमा पूनःरागमन गर्न सकेन ।
खेलमा देशभक्तका अमित भुजेल म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ८ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल कपिलवस्तु–११, कपिलवस्तु र नेपाल पुलिस क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु९४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।