
कोल्हुवा । संघर्षपुर्ण जितका साथ यहाँ सम्पन्न सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौंले जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा एपिएफले नमोबुद्ध युवा क्लब, सप्तरीलाई टाईब्रेकरमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि राईनो रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ दिपेश धिमालले एपिएफका लागि गोल गरेका थिए भने राम थापाले नमोबुद्धका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि टाईब्रेकरमा भने एपिएफले ४–२ को नतिजा निकाल्दै जित हात पार्न सफल भयो ।
विजेता बनेको एपिएफले उपाधिसहित नगद ८ लाख हात पार्यो भने उपविजेता नमोबुद्धले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । एपिएफका दिपेश धिमाल फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताभरि कुल ४ गोल गरेका नमोबुद्धका सिर्जन क्षेत्रीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । एपिएफका रत्न महर्जन उत्कृष्ट प्रशिक्षक बन्दा एपिएफ कै कप्तान युवराज खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।
राईनो क्लब, मध्यविन्दु, नवलपुरको आयोजनामा कार्तिक ३ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।