News तेस्रो समपुर्ण कप मंसिर ७ देखि, तयारी पनि पूरा
सुरज राना मगर

सुपौली । रुपन्देहीको फुटबलमा छोटो समय मै फरक पहिचान बनाउन सफल समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा हुने समपुर्ण कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही मंसिर ७ गतेदेखि शुरु हुने भएको छ ।

सुपौलीमा रहेको आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो । साथै दर्शकहरुका लागि अस्थायी पारापिटदेखि अन्य भौतिक तथा प्राविधिक लगायतका सम्पूर्ण कामहरु पनि सम्पन्न हुने संघारमा रहेको मैदान व्यवस्थापन संयोजक तारा केसीले जानकारी दिए ।

यसपटक प्रतियोगिताको प्रायोजन स्व. बस बहादुर शेरपुन्जा पुन तथा स्व. दिल कुमारी शेरपुन्जा पुनको स्मृतिमा उहाँकी श्रीमती श्रीमती कुमारी शेरपुन्जा पुन, छोराबुहारीहरु हिरु प्रसाद शेरपुन्जा–माया पुन, सोमराज शेरपुन्जा–सरिता गुरुङ्ग, मन्जुल शेरपुन्जा–चन्देवी पुन, सञ्जय शेरपुन्जा–स्मिता तामाङ, नातिनीबुहारी अर्जुन शेरपुन्जा–रन्जु लिम्बु, समिर, सदिप, केविन, केनिस, नातिनी सुप्रिया, आरियाना शेरपुन्जा लगायत सम्पूर्ण शेरपुन्जा पुन परिवारले गरेको खेल संयोजक अशोक पुनले जानकारी दिए ।

साथै यो प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. बस बहादुर शेरपुन्जा पुन तथा स्व. दिल कुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८१ हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसपटक प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि गरिएको आर्थिक संयोजक सुर्य पुनले जानकारी दिए । आर्थिक संयोजक पुनका अनुसार यसपटक विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक बिधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, पाल्पाका गरी कुल १६ टोलीहरुले सहभागिता जनाउने खेल संयोजक अशोक पुनले बताए । सोही अवसरमा प्रतियोगितालाई यस वर्ष पनि भव्य रुपमा सफल बनाउन सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष अबिर पुन पाईजाले बताए ।

स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि आयोजक समपुर्ण युवा क्लब, सुपौलीले नै जितेको थियो । त्यतिबेला फाइनलमा झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई हराउँदै समपुर्ण च्याम्पियन बनेको थियो ।

 

Post Comments