
पोखरा । शनिबारदेखि शुरु भएको २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, पोखराले विजयी शुरुवात गरेको छ ।
लेखनाथ रंगशालामा भएको उद्घाटन खेलमा आदर्शले एन्फा तनहुँलाई १-० ले हराउँदै विजयी शुरूवात गरेको हो । आदर्शका लागि सजिन मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सजिन मगर नै खेलको म्यान अफ दि म्याच चुनिए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।
यो जीतसँगै आदर्श सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर २३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल आर्मी सिद्धिदल गण र सशस्त्र प्रहरी बल, गण्डकी मुख्यालय बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेनराज पाण्डेले गरेका थिए ।
आदर्श युवा क्लब, पोखरा-२९, भण्डारढिक, सैनिकवस्तीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२५५२५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२५५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।