News बागमती प्रदेश लिगः दोलखाको टाईगर टिम फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । दोलखा जिल्लाको टाइगर टिम जारी दोस्रो वाग्मती प्रदेश लिग फुटबल प्रतियोगिता-२०८१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई पराजित गर्दै उपाधी नजिक पुगेको छ ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा दोलखाले सिन्धुलीलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा पुर्‍याएका थिए । बराबरको स्थितिमा पुगेको सिन्धुली खेलको ६४औँ मिनेटमा पुनः पछि पर्‍यो । दोलखाको तर्फबाट सम्भुजन श्रेष्ठले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलतर्फ ललितपुर जिल्लाको लक्की स्टार फुटबल क्लब र काठमाडौँको पशुपति शिवाजि चित्लाङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल पुष २० गतेका दिन हुनेछ ।

Post Comments