
काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सम्पन्न भएको ४२औं आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जितेको छ ।
फाइनलमा गण्डकीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।
विजेता बनेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधिसहित नगद नगद रु लाख हात पार्यो भने उपविजेता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु १ लाख ५० हजारमा चित्त बुझायो ।
विधागततर्फ गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे ।
गत पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए ।