
धाइजन (झापा) । झापाको मेचीनगर १० स्थित धाइजनमा आयोजित प्रथम जीजीआर मेमोरियल खुल्ला फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको अन्तिम विकल्प फुटसलले जितेको छ ।
आज भएको फाइनल खेलमा अन्तिम विकल्पले आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २-२ गोल गरे । एरोन प्लेयर अफ दी म्याच बने ।
यसैगरी, आयोजकका लागि पवन बास्केले एक्लै २ गोल गरेका हुन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । यसअघि अन्तिम विकल्पले ५-२ गोलअन्तरले धुलाबारीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । अन्तिम विकल्पका अनिष पोमु प्लेयर अफ दी म्याच बनेका थिए ।
यस्तै, अन्तिम सेमिफाइनल खेलमा आयोजकले विर्ता सिटीलाई २-१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जसमा २ गोल गरेका रोशन बोहोरा प्लेयर अफ दी म्याच बनेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक अन्तिम विकल्पका नगेन्द्र खत्री बने । उनले नगद १ हजार ५ सय पाउँदा सर्वोत्कृष्ट खेलाडी बास्केले नगद २ हजार र प्लेयर अफ दी म्याच बनेका खेलाडीले जनही १-१ हजार पाए ।
च्याम्पियन बनेको अन्तिम विकल्पले नगद ५० हजार र उपविजेता आयोजक टोलीले नगद २५ हजार पायो । उनीहरुलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, हरिचरण बानियाँ, बासु उप्रेती, प्रेमकृष्ण श्रेष्ठ, परिवारजनका सदस्यहरु पम्फादेवी राउत, देवेन्द्र राउत, नितु राउत, तृष्णा राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।