
च्याङग्रे । टेम्केमैयुङ गाउँपालिका, अन्नपुर्ण र नयाँ श्रीनाथ गण, भोजपुर जारी दोस्रो पौवादुङ्मा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पौवादुङमा रंगशालामा भएको पहिलो खेलमा टेम्केमैयुङले प्रदेश प्रहरी कार्यालय, बिराटनगरलाई ३–० ले हरायो । टेम्केमैयुङको जितमा खुशीराज बस्नेतले दुई गोल गर्दा थप एक गोल रोशन माझीले गरे । दुई गोल गरेका खुशीराज बस्नेत खेलको म्यान अफ दि म्याच पनि चुनिए ।
अर्को खेलमा नयाँ श्रीनाथ गणले अरुण गाउँपालिका, प्याउलीलाई ४–१ ले हरायो । नयाँ श्रीनाथ गणका लागि मनोज लिम्बु र मनिल सौगातले दुई–दुई गोल गरे । पराजित अरुण गाउँपालिकाका लागि भने मनिजंग राईले एक मात्र गोल गरे । खेलमा नयाँ श्रीनाथ गणका मनोज लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।