
चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेलमा भरतपुरको नारायणी नमुना माध्यामिक विद्यालयले विजयी शुरुवात गरेको छ ।
सैनिक आवासीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै नारायणी नमुना माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको हो । नारायणीको जितमा सन्दीप गुरुङले गोल गरेका थिए । गुरुङ नै खेलको म्यान अफ द म्याच पनि बने ।
भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा शुरु भएको प्रतियोगिता अन्तर्गत शनिबार ११ बजे पहिलो खेल नारायणी इङ्गलिस पब्लिक स्कुल र बाल्मिकी शिक्षा सदनबीच हुनेछ भने दोस्रो खेल १ बजे अरुणोदय माध्यामिक विद्यालय र ओर्बिट स्कुलबीच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष राजेन्द्र सााखीले गरेका थिए । पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । फाइनल माघ १२ गतेका दिन हुनेछ ।