
च्याङग्रे । राजगढ फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलतर्फ राजगढले कोट कालिका फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
पौवादुङमा खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ राजगढका लागि रेजिन माझी र श्याम मुर्मुले गोल गरे । उता कोट कालिकाका लागि भने अमित शेसर र रिचार्ड विलसनले गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमा भने राजगढले कोट कालिकामाथि ४–१ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो । खेलमा राजगढका गोलरक्षक योगेश धिमाल म्यान अफ द म्याच घोषित भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।