
माथागढी । आयोजक झडेवा फुटबल क्लब, माथागढी र ज्योतिपुञ्ज युवा क्लब, रामपुर जारी चौथो झडेवा कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
माथागढी गाउँपालिका–४, झडेवा स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा ज्योतिपुञ्जले केराबारी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै दोस्रो सेमिफाइनलतर्फ आयोजक झडेवाले एनजेवाइसीलाई पेनाल्टी शुटआउट मै हरायो । त्यसअघि दुवै टोलीले निर्धारित समयको खेल बराबरी नै खेलेका थिए । अब माघ १३ गते आइतबार हुने फाइनलमा ज्योतिपुञ्ज र झडेवा उपाधिका लागि भिड्ने छन् ।
झडेवा फुटबल क्लब, माथागढी गाउँपालिका–४, झडेवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक निश्चल श्रेष्ठले जानकारी दिए ।