
देवीनगर । सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगर, बागधुराको आयोजनामा हरेक वर्ष शहिद दिवसको अवसर पारी आयोजना हुँदै स्व. लाल बहादुर तथा डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको तयारी पूरा भएको छ ।
आयोजक क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आवश्यक तयारी सबै पूरा भएको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु) ले सदा झैं यसपटक पनि स्थानीय र युवा खेलाडीहरुलाई प्राथमिकतामा राखी खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनाको तयारी सम्पन्न गरिएको बताए ।
तिलोत्तमा–१४, बागधुरा स्थित आयोजक क्लब कै सञ्जिवनी खेलमैदानमा हुने प्रतियोगितामा रुपन्देही र बाहिरी जिल्लाका गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने खेल संयोजक खिम थापाले जानकारी दिए । प्रतियोगितामा राम्रो टोलीहरुको सहभागिता रहकोले खेलहरु रोमाञ्चक हुने अपेक्षा गरेको समेत खेल संयोजक थापाले बताए ।
स्थानीय खेलप्रेमीहरु राम बहादुर, कुल बहादुर र खिम बहादुर छन्तेलले आफ्ना दिवंगत मातापिता स्व. लाल बहादुर र डम्मर कुमारी छन्तेलको स्मृतिमा प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र कुमार छन्तेलले बताए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख खर्च हुने अनुमान गरिएको पनि आर्थिक संयोजक इन्द्र कुमार छन्तेलले जानकारी दिए ।