
पथरी । स्थानीयस्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडीहरु खरिद गरि आयोजना गरिएको टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनल आज हुँदैछ ।
पथरी रंगशालामा दिनको १ बजेदेखि शुरु हुने फाइनल भिडन्तमा द रियल ब्रदर्श र टेन नवोदय एफसी उपाधिका लागि भिड्दै छन् । फाइनल प्रवेश गर्ने क्रममा टेन नवोदयले सेमिफाइनलमा सिरिजंगा एफसीलाई १–० ले हराएको थियो भने रियल ब्रदर्शले हेरिका न्यु स्टार एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराएको थियो ।
स्मरण रहोस, समूह चरणतर्फ समूह ए मा रहेको हेरियकाले अन्तिम खेलमा सनसनीपुर्ण जित निकाल्दै समूह ए को उपविजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो भने रियल ब्रदर्श समूह बी को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो ।
प्रतियोगिताकै पहिलो संस्करण र त्यो पनि प्रिमियर लिग भएकाले दुवै टोली फाइनल जित्न आत्तुर छन् । र क्लबका लागि आजको दिन एउटा अविस्मरणीय दिन बनाउने उद्देश्यका साथ मैदानमा उत्रिने छन् ।
लिग विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउनेछ ।