
इटहरी । राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको १५औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि हुने भएको छ ।
इटहरी–९ स्थित इटहरी रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो । नेपाल र भारतका गरी कुल ८ टोलीहरु सहभागि रहने प्रतियोगिताको फाइनल खेल भने फागुन १० गतेका दिन हुनेछ ।
कन्ट्रोल लुब्रिकेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पाउने छन् भने अन्य विधातर्फका उत्कृष्टहरुले जनही २०–२० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ हजार हात पार्ने पनि जानकारी गराइयो भने प्रतियोगिताको उदीयमान खेलाडीलाई एक थान आकर्षक एलइडी टिभी प्रदान गरिने पनि आयोजकले जानकारी दियो । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।