
झापा । परिवर्तित खेलाडीको गोलबाट आयोजक भद्रपुर ब्लेजर्सले भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
मेची रंगशालामा आजदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली दार्जीलिङ पुलिस भारतलाई ४-३ गोलअन्तरले पराजित गर्दै आयोजक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफमा परिवर्तित खेलाडी प्रताप राईको गोलबाट आयोजकले जित दर्ता गरेको हो । पहिलो हाफमा २-० गोलको अग्रता लिएको आयोजकविरुद्ध दार्जीलिङ नाटकीय ढंगबाट खेलमा फर्किएको थियो ।
अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्याए ।
त्यस्तै, खेलको ४२औँ मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक सिंहसँग वान टु वान स्थितिमा उनले गोल गरेका हुन् ।
खेलको ७२औँ मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे । पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सिर्जना गरेको थियो । खेलको ५०औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे ।
खेलको ५५औँ मिनेटमा नयन प्रधानले अर्को गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे । खेलको ७०औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए ।
खेलको प्लेयर अफ दी म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको बताए । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको बताए ।
दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेलेको बताए । टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ ।
बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था मिलाइएको छ ।