
बुटवल । यहाँ सम्पन्न लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह ब्वाईज, देवदहले जितेको छ । फाइनलमा आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवललाई २–१ ले हराउँदै देवदह च्याम्पियन बनेको हो ।
देवदहको जितमा अफ्रिकी खेलाडी हेनरी पोकुले एक गोल गर्दा अर्को एक गोल भने अनुप थापाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यस्तै उता पराजित लखन ब्रदर्शका लागि भने रोशन थापाले गोल फर्काएका थिए ।
विजेता बनेको देवदहले उपाधिसहित नगद १ लाख ५१ हजार ५१५ रुपैयाँ हात पार्यो भने उपविजेता लखद ब्रदर्शले ७५ हजार ७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
देवदहका सुभाष थारु प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि देवदह कै टेक मुखिया बन्दा उत्कृष्ट डिफेन्डर लखन ब्रदर्शका सुजित डाँगी चुनिए । उत्कृष्ट मिडफिल्डर पनि लखन ब्रदर्श कै जितेश गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार लखन ब्रदर्श कै कप्तान मिलन आलेले हात पारे ।
प्रतियोगिताको उदियमान खेलाडी भने सियारी गाउँपालिकाका बलराम न्यौपाने घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, आयोजक लखन ब्रदर्श युथ क्लबका अध्यक्ष सुदिप खत्री, खेल संयोजक राम थापा लगायतले पुरस्कृत गरेका थिए ।