News एकतर्फी जितका साथ योङ ब्वाईज अन्तिम चारमा
सुरज राना मगर

दियोबजार । एकतर्फी जित हात पार्दै योङ ब्वाईज फुटबल क्लब, देवदह रुपन्देहीमा जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ योङ ब्वाईजले समपुर्ण युवा क्लब, सुपौलीलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । योङ ब्वाईजको जितमा हिमाल थापाले दुई गोल गरे भने कप्तान मनोज गुरुङ र विशेष तामाङले एक–एक गोल गरे ।

खेलमा म्यान अफ दि म्याच भने योङ ब्वाईज कै बिशाल तामाङ घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ९ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल सैनामैना कलेज, सैनामैना र देशभक्त फुटबल क्लब, नवलपरासीबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments