
कटारी । रोमाञ्चक जितका साथ बिरगंज युनाइटेड जारी पाँचौं कटारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ बिरगंजले एनजे क्लब, सिन्धुलीलाई २–१ ले हरायो । बिरगंजको जितमा अन्जन गच्छदार र बिक्रम थोकरले गोल गरे । उता एनजे क्लबका लागि सन्जिव धामीले गोल फर्काएका थिए ।
खेलमा बिरगंजका बिक्रम थोकर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल च्याम्पियन ब्वाईज, काठमाडौं र साम्त्से फुटबल क्लब, भुटानबीच हुने आयोजकले जानकारी दियो ।
नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १७ गतेका दिन हुनेछ ।