
दियोबजार । उत्कृष्ट जित हात पार्दै योङ ब्वाईज फुटबल क्लब, देवदह जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा योङ ब्वाईजले आयोजक हिमालय फुटबल क्लब, कञ्चनलाई ४–१ ले हरायो । योङ ब्वाईजको जितमा बसन्त कुमाल, तारा थापा, हिमाल थापा मगर र कप्तान उमेश थापाले गोल गरे । पराजित हिमालयका लागि भने प्रवेश गुरुङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा योङ ब्वाईजका कप्तान उमेश थापा म्यान अफ दि म्याच घोषित भए । योङ ब्वाईजले अब फागुन १४ गते बुधबार हुने फाइनलमा सैनामैना कलेज अफ हस्पिटलिटी, सैनामैनासँग उपाधिका लागि भिड्ने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।