
कपिलवस्तु । रोमाञ्चक र प्रतिस्पर्धात्मक जितका साथ थ्रीस्टार फुटबल क्लब, ललितपुर जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले साविक विजेता हनामी बिएफसी, चितवनलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
बुद्ध रंगशालामा भएको निर्धारित समयको खेलतर्फ थ्रीस्टारका लागि आशिष गुरुङ्गले शुरुवाती गोल फर्काए तापनि बिएफसीका लागि आश्विन तामाङले बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने थ्रीस्टार ४–२ ले विजयी बन्यो ।
खेलमा थ्रीस्टारका गोलरक्षक आशिष ठाडा मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १७ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल जोङजी फुटबल क्लब, सिक्किम र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।