
कपिलवस्तु । यहाँ सम्पन्न दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा मच्छिन्द्रले थ्रीस्टार क्लब, ललितपुरलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता थ्रीस्टारले ५,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका सन्तोष महत बन्दा उत्कृष्ट डिफेन्डर पनि मच्छिन्द्र कै सिमोन डेनियल बने । उत्कृष्ट मिडफिल्डर मच्छिन्द्र कै अनिल खड्का चुनिदा उत्कृष्ट फरवार्ड थ्रीस्टारका आशिष गुरुङ बने । उत्कृष्ट प्रशिक्षक पनि थ्रीस्टारका गंगाराम देउजा चुनिए । उत्कृष्ट बनेका सबैले जनही ३०–३० हजार र ट्रफी हात पारे ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने मच्छिन्द्रका सौरभ सुब्बा घोषित भए । उनले पुरस्कार वापत नगद ५० हजार र ट्रफी हात पारे ।